वीरगंज , पुष – २
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन। यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियाका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाइएको अलजजिराले जनाएको छ।
अमेरिका प्रवेश प्रक्रिया थप कडा बनाउने निरन्तर प्रयासअन्तर्गत यो निर्णय लिइएको हो। थ्यांक्सगिभिङ सप्ताहन्तमा नेशनल गार्डका दुई सैनिकमाथि भएको गोलीकाण्डमा एक अफगान नागरिक पक्राउ परेपछि प्रशासनले सुरक्षा जोखिमलाई कारण देखाउँदै आप्रवासन तथा यात्रासम्बन्धी नियमहरू थप कडाइ गरेको जनाएको छ।
यसैक्रममा प्यालेस्टिनी प्राधिकरणद्वारा जारी यात्रा कागजात भएका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा यात्रा रोक लगाइएको छ।
यसअघि गत जुन महिनामा राष्ट्रपति ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका भ्रमणमा पूर्ण प्रतिबन्ध लगाउने र थप सात देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए ।















