वीरगंज, २ पुस । भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्न लागेको रोहिङ्गया शरणार्थीहरूको समूहलाई भारत मै फिर्ता पठाइएको छ ।
बुधवार बिहान करीब १५ वटा टाँगामा आएका सयजना रोहिङ्गया शरणार्थी नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि स्थानीयवासीले बाइपास रोडको नगवा क्षेत्र अगाडि उनीहरूलाई रोकेर सोधपुछ गरेका थिए । सोधपुछका क्रममा उनीहरूले भारतको उत्तर प्रदेश घर बताउँदै नेपाल कामका लागि जान लागेको बताएका थिए ।
युवाहरूले ती शरणार्थीहरूलाई वीरगंज भन्सारसम्म फिर्ता लगेर प्रहरीको जिम्मा लगाएको स्थानीय रञ्जित सर्राफले जानकारी गराए । उनले यूपी घर बताउने तर राम्रो हिन्दी नबोल्न सक्ने, स्पष्ट कागजात नभएपछि शङ्का लागेर प्रहरीलाई बुझाइएको बताए ।
सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालको लापरबाहीका कारण उनीहरु नेपाल छिर्न सफल भएको स्थानीयले आरोप लगाएका छन् । सशस्त्र प्रहरीले रोहिङ्गया शरणार्थीहरूको ठूलो समूह नेपाल प्रवेश गर्दा पर्याप्त जाँच नगरेको आरोप लगाएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनीहरुलाई भारततर्फ फिर्ता पठाइएको जनाएको छ।















