वीरगंज, ३ पुस । जेनजी आन्दोलनको समयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको घरमा आगजनी गरेको आरोपमा पक्राउ परेमा रन्जन सिंह राजपुत रिहा भएका छन् ।
बिहीवार बिहान जिल्ला प्रहरी कार्यालय पर्साले राजपुतलाई वीरगंज–१० रानीघाटबाट नियन्त्रणमा लिएको थियो ।
सरकार र जेनजी प्रतिनिधिबीच मंसिर २४ गते भएको १० बुँदे सम्झौतामा जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा प्रहरी थुनामा राख्न नपाइने र आवश्यक परे बयानका लागि फेरि बोलाउन सक्ने शर्तमा जिम्मा जमानीमा राजपुतलाई रिहा गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जनाएका छन् ।
यसअघि उनी पक्राउ परेको विरोधमा युवाहरूले प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिकै सडकमा युवाहरुले राजपुतलाई तत्काल बिना शर्त रिहा नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
मेयर सिंहले आफ्नो निजी घरमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरू विरूद्ध किटानी जाहेरी दिएपछि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको र त्यसैका आधारमा बिहीवार बिहान राजपुतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रउ पाठकले बताए।














