वीरगंज , पुष – ३
भारत सरकारले यस वर्ष गण्डक नहरमार्फत गहुँ बाली सिँचाइ गर्न असमर्थ हुने जनाएको छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका सूचना अधिकृत इन्जिनियर सुरेशप्रसाद साहका अनुसार भारतको बिहार पश्चिम चम्पारण रामनगरस्थित नहर शाखाले मंगलबार कार्यालय प्रमुख मनोज पटेललाई औपचारिक पत्रमार्फत जानकारी दिएको हो ।
भारतीय पक्षले यस वर्ष नहरमा सरसफाइ र मर्मत सम्भारको काम गर्ने र ठेक्का सम्झौता भइसकेको भन्दै हिउँद सिजनमा नहरमा पानी उपलब्ध गराउन नसकिने जनाएको छ। नहरमा पानी नआउँदा पर्सा, बारा र रौतहटका करिब २८ हजार हेक्टर सिँचित क्षेत्रका गहुँबालीसहित तोरी, दाल, आलु र उखु बाली पनि सिँचाइबाट वञ्चित हुने सम्भावना छ।
गण्डक नहर नेपाल–भारत सीमामा नवलपरासीको त्रिवेणी भैंसालोटनबाट प्रवेश गर्दै पर्सा, बारा र रौतहटका १५ ब्लकमा फैलिएको छ। नेपालमा नहरको लम्बाइ ८१ किलोमिटर रहेको छ र रौतहटको बागमती नदीमा मिसेर समाप्त हुन्छ। गण्डक सम्झौताअनुसार भारतीय पक्षले गहुँबालीका लागि नहरमा ८५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
नहरअन्तर्गत कुल ३७ हजार ४ सय हेक्टर क्षेत्र सिँचित छ, जसमा पर्सामा १६ हजार, बारामा ९ हजार र बाँकी रौतहटमा रहेको छ। पर्सा र बारामा लक्षित सिँचाइ हुने भए पनि रौतहटमा पानीको अभावले लक्ष्यअनुसार सिँचाइ हुन सक्दैन । सम्झौताअनुसार धानबाली सिजनमा असार १५ र गहुँबालीका लागि पुस १५ मा पानी उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ ।















