कलैया, ६ बारा ।
बारा जिल्लाको परवानीपुर गाउँँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पाँच दिन बिदा दिने निर्णय गरेको छ।
अत्यधिक चिसोका कारण बालबालिकाको उपस्थिति न्यून भएपछि गाउँ कार्यपालिकाको निर्णयअनुसार पुस ७ देखि पुस ११ गते शुक्रवारसम्म विद्यालयको पठन–पाठन बन्द रहने छ र उक्त बिदा वर्षे बिदाबाट कट्टी हुने गापाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारद्वारा जारी सूचना अनुसार पुस १३ गते आइतवारदेखि विद्यालयहरू निर्धारित समयअनुसार पुनः सञ्चालन हुनेछन् । साथै बिदा अवधिमा मौसम अनुकूल भएमा स्वतः विद्यालय सञ्चालन गर्न सकिने जनाइएको छ।














