वीरगंज, पुस – ६
पर्साको धोबिनी गाउँपालिका–५ धोबिनी टोलमा भारतीय प्रहरी पोशाकसहित प्रवेश गरेको घटनालाई लिएर स्थानीयहरू आक्रोशित भएका छन्। घटनाले सीमा क्षेत्रमा तनाव उत्पन्न भएको बताइएको छ।
स्थानीयका अनुसार हरियाणा र पश्चिमी चम्पारणका भारतीय प्रहरी एक भारतीय नागरिकलाई पक्राउ गर्न धोबिनी टोल पुगेका थिए। एक जना पोशाकमा र अन्य चार जना सादा पोशाकमा रहेका प्रहरीलाई स्थानीयले रोकेर वडाध्यक्ष मनोहर अहमदको घरमा लगेका थिए। प्रयोग गरिएको गाडीमा एक जना व्यक्ति हतकडी लगाएको अवस्थामा रहेको बताइएको छ।
घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय, लङ्गडीका प्रहरी घटनास्थल पुगेका थिए। स्थानीयले नेपाल प्रहरीसँग समन्वयविना भारतीय प्रहरी अनधिकृत रूपमा नेपाल प्रवेश गरेको भन्दै विरोध जनाएका छन्।
यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भारतीय प्रहरी प्रवेश गर्न खोजेपछि नेपाल प्रहरीले उनीहरूलाई फिर्ता पठाएको जानकारी दिनुभएको छ। घटनाबारे थप सोधपुछ गरिएको प्रशासनले जनाएको छ।















