विन्दवासिनी माई मन्दिरको संरक्षण र व्यवस्थापन कानुनी प्रक्रिया अनुसार अघि बढाइने

वीरगंज, ८ पुस । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक सम्पत्ति राज्य र जनताको साझा धरोहर भएको बताएका छन् ।

वीरगंज महानगरपालिका वडा नं. १९ स्थित ऐतिहासिक विन्दवासिनी माई मन्दिरमा मंगलवार आयोजित छलफल कार्यक्रममा प्रजिअ दाहालले मन्दिरको संरक्षण र व्यवस्थापन कानुनी प्रक्रियाअनुसार अघि बढाइने बताए ।

महानगर प्रमुख राजेशमान सिंहले मन्दिर आसपास रहेको सार्वजनिक जग्गा–जमिनको विषयमा स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवाला निकायबीच विस्तृत छलफल गरेका थिए ।

वर्षौदेखि विन्दवासिनीमाई मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा अनधिकृत रूपमा प्रयोग हुँदै आएको मेयर सिंहले बताए । उनले मन्दिर सम्पत्तिको संरक्षण र व्यवस्थापन अपरिहार्य रहेको बताए। सार्वजनिक सम्पत्तिको दुरूपयोग अन्त्य गर्दै कानुन अनुसार उचित निकास निकालिने स्पष्ट पारे ।

छलफलमा स्थानीयले गरेको अतिक्रमण, दुरूपयोग र अस्पष्ट स्वामित्वका कारण विकास विन्दावासिनी मन्दिर क्ष्Fेत्रको कार्य प्रभावित हुँदै आएको गुनासो उठेको छ ।

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक, सीमांकन र प्रयोगसम्बन्धी विषयलाई प्राथमिकतामा राखिने जानकारी दिए ।

पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले सार्वजनिक सम्पत्तिको संरक्षणमा प्रहरी प्रशासनको पूर्ण सहयोग रहने जनाउँदै शान्ति–सुरक्षालाई ध्यानमा राखेर प्रक्रिया अघि बढाइने बताए। वडा नं. १९ का वडा अध्यक्ष मुकेश चौरसियाले दीर्घकालीन समाधान आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी वडा सदस्यहरू, महानगरपालिका र महानगर प्रहरीका प्रतिनिधि तथा स्थानीय नेताहरूले पनि स्पष्ट नीति, कार्ययोजना र सम्बन्धीत निकायबीचको सहकार्यबाट समस्या समाधान सम्भव हुने धारणा राखेका थिए ।

विन्दवासिनी माई मन्दिर क्षेत्रसँग जोडिएका सार्वजनिक जग्गा–जमिनसम्बन्धी विषयमा कानुनी प्रक्रिया अनुसार निकास दिन सम्बन्धीत निकायलाई निर्देशन दिइएको छ । सार्वजनिक सम्पत्ति साझा धरोहर– प्रजिअ दाहाल

सम्बन्धित पोस्टहरुः