वीरगंज , पुष – ९
विराटनगरमा क्रियाशील सञ्चारकर्मीहरूले सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडालाई एक कार्यक्रममार्फत सम्मान गरेका छन् । प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत खतिवडाले सीमा सुरक्षा सुदृढीकरण, अवैध गतिविधि नियन्त्रण तथा चोरी–पैठारी निरुत्साहित गर्न पुर्या्एको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
कार्यक्रमका संयोजक सत्यनारायण शर्माका अनुसार सशस्त्र प्रहरी बल नेपालको उद्देश्यअनुसार सीमामा सुरक्षा मजबुत बनाउने, क्षेत्रका विकृति–विसंगति न्यूनीकरण गर्ने र आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति दिलाउने कार्यमा खतिवडाको भूमिका उल्लेखनीय छ ।
कार्यक्रममा साझा सरोकार डट कमका सम्पादक रोशन पोखरेलले समाजमा शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरूको योगदान महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि यस्तै सेवाभावका साथ कार्य गर्न शुभकामना व्यक्त गरे । त्यस्तै, समकालीन पथका सम्पादक तथा प्रकाशक मधुसुदन ज्ञवालीले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा खतिवडाले खेलेको भूमिकालाई सबैले आत्मसात् गर्नुपर्ने धारणा राखे ।
सम्मान ग्रहणपछि बोल्दै सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडाले संगठनले दिएको जिम्मेवारी अक्षरशः पालना गर्दै आएको बताए । सञ्चारकर्मीहरूबाट सम्मानित हुन पाउनु आफ्नो लागि गर्वको विषय भएको उनले बताए ।















