४ किलो ३०० ग्राम कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

वीरगंज , पुष – १०

प्रहरीले ४ किलो ३०० ग्राम लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकमाथि निगरानीका क्रममा काठमाडौँ महानगरपालिका–९, सिनामङ्गल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा थाइल्यान्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतकै २१ वर्षीय मुर्सालेन हुसेन रहेका छन्। ब्यूरोका सहप्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ परेका तीनै जना नेपालमै बसेर कोकिन कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ब्यूरोका अनुसार लाओसबाट थाइल्यान्ड हुँदै काठमाडौँ आएकी कामासँग ५५० ग्राम कोकिन बरामद गरिएको छ भने लाओसबाट सिङ्गापुर हुँदै काठमाडौँ आएका जेभियर र नेपालमा कोकिन लिन आएका मुर्सालेनसँग ३ किलो ७५० ग्राम कोकिन फेला परेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः