सासु–ससुराले ज्यान मार्ने प्रयाससहितको घरेलु हिंसा गरेको मधुको आरोप

वीरगंज , पुष – ११

वीरगंज महानगरपालिका–७, गहवा टोलमा एक महिला मधु कुमारी गुप्तामाथि आफ्नै सासु–ससुराले ज्यान मार्ने प्रयाससहित गम्भीर आक्रमण गरेको घटना सार्वजनिक भएको छ।

पीडितका अनुसार करिब चार वर्षअघि विवाह गरेपछि पति रोजगारीका कारण बुटवल गएका बेला ससुराली घरमै बस्दा उनलाई सासु मीना देवी, ससुरा नागेन्द्र साह कानु र अन्य नन्दहरूले लगातार शारीरिक, मानसिक र आर्थिक हिंसा गर्दै आएका थिए । पीडितले घरमा बस्न नदिने, खान–लाउनबाट वञ्चित गर्ने, गालीगलौज गर्ने र पटक–पटक कुटपिट गर्ने व्यवहार झेल्नुपरेको बताएकी छन् ।

२०८२ मंसिर ७ गते स्थानीय प्रहरी पहलमा बसोबासका लागि सहमति भए पनि घर फर्कँदा बस्न दिइएको कोठामा बालुवा थुपारिएको भेटिएको थियो । यसबारे छलफल गर्दा समेत ससुराली पक्षले बेवास्ता गरेको पीडितले जानकारी दिइन् ।

आज दिउँसो करिब २ बजे विवाद चर्किँदा ससुराली पक्षले लात, मुक्का, लाठी र फलामे पाइप प्रहार गर्दै कुटपिट गरेको छ। पीडितको नाक, आँखा र अनुहारमा गम्भीर चोट पुगेको छ । उनलाई माइती पक्षको सहयोगमा नारायणी अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

सम्बन्धित पोस्टहरुः