बारा ११ पुष । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा बङ्गलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हत्या र हिंसाको विरोधमा प्रदर्शन गरिएको छ ।
वडा नम्बर २ रानीवास बजारबाट शुरू भएको जुलुस अमृतगन्ज र जानकी नगर हुँदै सिम्रौनगढ बजारको विभिन्न भाग परिक्रमा गर्दै सहभागीहरूले बङ्गलादेश सरकारको विरोध गर्दै चर्काे नाराबाजी गरेका थिए ।
बस पार्कमा आयोजित कोण सभामा सुभाष प्रसाद कुशवाहा, रामबाबु ब्यास, आर.के. पटेल, रामाशंकर प्रसाद र मुकेश मोहन यादव लगायतले बङ्गलादेशमा हिन्दुहरूमाथि भइरहेको दमन तुरून्त रोक्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
छिमेकी देशमा हिन्दु समुदाय असुरक्षित हुँदा अन्तर्राष्ट्रिय समुदाय मौन बस्न नहुने र नेपाल सरकारले पनि यस विषयमा कूटनीतिक पहल गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
राम जानकी मन्दिरका महन्थ विनोद गिरीको अध्यक्षतामा सम्पन्न कोण सभामा स्थानीय अगुवाहरूको सहभागिता थियो ।














