काठमाडौं । उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक शक्तिहरु एक भएर जानुपर्ने धारणा दोहोर्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनसँगको एकतामा मिसिन नसकेका घिसिङले आज पोखरामा पुगेर वैकल्पिक शक्तिको एकतामा पुन जोड दिए ।
उज्यालो नेपालको जिल्ला भेलालाई सम्वोधन गर्दै उनले सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गर्ने अवस्थामा आफ्नो पार्टी रहेको जिकिर गरे । सबै नयाँ र मेनस्ट्रिम फोर्सहरु एक भएर जानका लागि उनको आह्वान छ । पार्टीले आफ्नो आत्सम्मान र स्वाभिमान कायम राखेर सबैसँग सहकार्य गर्ने उनले बताए ।
घिसिङले भने, ‘आजको दिन नेपाली जनताले वैकल्पिक शक्तिहरु एक भएर अगाडि बढोस भन्ने र नयाँ नेतृत्व देओस भन्ने चाहेका छन् । त्यसलाई हामी सबैले बुझेर त्यसतर्फ अगाडि बढ्नुपर्छ । त्यसतर्फ उज्यालो नेपाल पार्टी सदैव अग्रसर छ । एउटा सम्मानजनक उपस्थिति, आत्मसम्मान र आफ्नो स्वाभिमानलाई यथास्थितिमा राखेर, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं । सहकार्य गरेरै अगाडि बढ्ने हो। यसतर्फ धेरै कुराहरु भइरहेको छ । आगामी दिनमा रिजल्ट आउने म विश्वास व्यक्त गर्न चाहन्छु ।’













