जितपुर : जितपुर बजारमा फुटपाथमा व्यवसाय गर्नेहरू हटाउनुपर्ने माग गर्दै सटर व्यवसायीहरूले मुख्य सडक एक घण्टासम्म चक्काजाम गरेपछि बजार क्षेत्र तनावग्रस्त बनेको छ। सटर र फुटपाथ व्यवसायीबीच लामो समयदेखि देखिँदै आएको विवाद आइतबार खुला रूपमा चर्किएको हो।
सटर व्यवसायी रिना बजगाईंले आफूहरू राज्यलाई नियमित रूपमा कर, भाडा तथा अन्य राजस्व तिर्दै आएको बताउँदै “हामी सबै कर तिर्छौं, नियम पालना गर्छौं तर फुटपाथमा बसेर व्यापार गर्नेहरूले केही पनि तिर्दैनन्। यसले बजार अव्यवस्थित बनाएको छ। जितपुरलाई सफा र सुन्दर बनाउन फुटपाथ व्यवसाय हट्नुपर्छ,” उनले भनिन्।
यता फुटपाथमा जुत्ता–चप्पल सिलाउने व्यवसाय गर्दै आएका राहुल चमारले आफूहरू गरिब र असहाय भएकाले यही व्यवसायबाट परिवार पाल्दै आएको बताए। “हामी हट्नै नमान्ने होइनौं। तर हामीलाई वैकल्पिक व्यवस्था गरिदिनुपर्छ। कतै व्यवस्थित स्थान दिएर बस्न पायो भने हामी खुशीसाथ सर्छौं,” उनले भने।
चक्काजामप्रति असन्तुष्टि जनाउँदै स्थानीय युवा सुनिल शाहले फुटपाथ व्यवसायी हटाउनका लागि मुख्य सडक बन्द गर्नु जरुरी नभएको बताए। “जितपुरका दुवै पक्ष व्यापारी नै हुन्। यहाँ धनी–गरिबको कुरा होइन। दुवैलाई बसेर मिलाएर समाधान खोज्दा राम्रो हुन्थ्यो,” शाहले भने।
फुटपाथ व्यवसायीहरूको गुनासो पनि कम छैन। उनीहरू भन्छन्, सटर व्यवसायीहरूले नियमविपरीत पाँच हातसम्म बाहिर सामान राखेर बिक्री गर्दा कुनै कारबाही हुँदैन, तर आफूहरू नालाको छेउमा सानो व्यापार गर्दा प्रशासन र सटर व्यवसायी दुवैबाट धम्की आउने गरेको छ। “हामी कहाँ जाने?” उनीहरूको प्रश्न छ।
अर्का फुटपाथ व्यवसायी शम्भु शाहले ३०–३५ वर्षदेखि फुटपाथमै व्यापार गर्दै आएको स्मरण गराउँदै अहिले आएर हटाउने प्रयास अन्यायपूर्ण भएको बताए। “हामी हट्छौं, तर हामीलाई कतै व्यवस्थित गरेर राखिदिनुपर्छ,” उनले भने।
उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ताले सटर र फुटपाथ दुवै पक्ष व्यापारी नै भएको उल्लेख गर्दै संवादबाटै समाधान निकाल्नुपर्ने बताए। “दुवै पक्षलाई एकै ठाउँमा राखेर सल्लाह गरी दीर्घकालीन समाधान खोज्नुपर्छ,” गुप्ताले भने।
हाल चक्काजाम खुले पनि जितपुर बजारमा फुटपाथ र सटर व्यवसायीबीचको विवाद समाधान नहुँदासम्म समस्या दोहोरिन सक्ने स्थानीयको चिन्ता छ।













