वीरगंज , पुष – १३
वीरगंज नाकाबाट एक वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा रहेका १६३ जनालाई माइती नेपालले उद्धार गरेको छ । माइती नेपाल वीरगंजले आइतबार पत्रकार सम्मेलन गरी सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मका तथ्याङ्क सार्वजनिक गरेको हो ।
उद्धार गरिएकामध्ये ४० जना १८ वर्षमुनिका बालबालिका र १२३ जना वयस्क रहेको माइती नेपाल वीरगन्जकी संयोजक गोमा पौडेलले जानकारी दिइन् । उनीहरूमध्ये १३० जनालाई विभिन्न बहाना र प्रलोभनमा भारत लैजान लागिएको अवस्थामा सीमा नाकाबाटै रोकिएको हो ।
उद्धारपछि १३७ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने १७ जनालाई थप सहयोगका लागि काठमाडौँ पठाइएको छ । हाल ७ जना माइती नेपाल वीरगन्जको संरक्षण गृहमा रहेका छन् ।
माइती नेपालका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी रोजगारी र प्रेमको बहानामा महिला तथा बालबालिकालाई सीमा पार गराउने गिरोह सक्रिय रहेकाले सीमा क्षेत्र थप संवेदनशील बन्दै गएको छ । विगत पाँच वर्षमा वीरगन्ज नाकाबाट मात्रै ७९९ जना महिला तथा बालबालिकालाई बेचबिखनको जोखिमबाट जोगाइएको माइती नेपालले जनाएको छ ।














