वीरगंंज, पोस – १३
नेपाली कांग्रेसले यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरूलाई आगामी चुनावमा उम्मेदवार नबनाउने निर्णय गरेको छ।
समानुपातिक तर्फको बन्दसूची टुंग्याउन बसेको कार्यसम्पादन समितिको बैठकले २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा वा प्रदेशसभामा पुगेकाहरूलाई सूचीमा नसमेट्ने निर्णय गरेको हो।
बैठकले भोलि निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने पनि निर्णय गरेको छ। साथै विभिन्न समयमा पार्टी परित्याग गरी स्वतन्त्र बसेका वा अन्य दलमा गएका नेताकार्यकर्तालाई पुनः कांग्रेसमा फर्कन आह्वान गरिएको छ।
यसैगरी अघिल्ला निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका कारण गरिएको कारबाहीसमेत फुकुवा गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।














