वीरगंज महानगरको १९औँ नगर अधिवेशन सम्पन्न, वडाको २५ प्रतिशत बजेट पुनः बहाल

वीरगंज , पुष – १४

वीरगंज महानगरपालिकाको १९औँ नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले यसअघि विशेष अधिवेशनमार्फत कटौती गरिएको वडाको २५ प्रतिशत बजेट पुनः थप गर्ने प्रस्ताव पारित गरेको छ।

गएको भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण महानगरका विभिन्न संरचनामा क्षति पुगेपछि असोजमा विशेष अधिवेशन आयोजना गरिएको थियो। उक्त अधिवेशनले पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै स्रोत व्यवस्थापनका लागि वडाको बजेट कटौती गरेको थियो।

महानगर प्रमुख राजेशमान सिंहका अनुसार पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाइसकेपछि चालु आर्थिक वर्षको १७औँ अधिवेशनले छुट्याएको वडातर्फको बजेट यथावत् राख्ने निर्णय हालको अधिवेशनबाट पारित गरिएको हो।

अधिवेशनमा प्रमुख सिंहले चालु आर्थिक वर्षको हालसम्मको आय–व्यय विवरण पनि प्रस्तुत गर्नुभयो। उहाँका अनुसार कुल विनियोजित तीन अर्ब २२ करोड रुपैयाँमध्ये हालसम्म एक अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको करिब ३३ प्रतिशत हो। चालु खर्चतर्फ ३४.७८ प्रतिशत र पुँजीगत खर्चतर्फ ३२.६४ प्रतिशत खर्च भएको जानकारी दिइयो।

यसै आर्थिक वर्षभित्र महानगरपालिकाले शुलभ औषधि पसल सञ्चालन, प्रयोगशाला विस्तार तथा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्यसमेत लिएको प्रमुख सिंहले बताउनुभयो।

अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्यलगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः