महुवन मठको अतिक्रमित जग्गा खाली गराउन ७ दिने अल्टिमेटम

वीरगंज , पुष – १५

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–५ मा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको श्री पारसनाथ महादेव मन्दिर महुवन मठको अतिक्रमित जग्गा खाली गराउन सरकारी निकायले कडा कदम चालेका छन् ।

गुठी संस्थान र सखुवा प्रसौनी गाउँपालिकाले संयुक्त रूपमा अतिक्रमणकारीलाई ७ दिनभित्र अनधिकृत संरचना हटाउन अन्तिम अल्टिमेटम दिएका छन् । गुठी संस्थान शाखा कार्यालय वीरगञ्जकी प्रमुख उर्मिला आचार्यले पत्र जारी गर्दै मठको नाममा दर्ता रहेको कित्ता नम्बर २७६ को ५ बिघा १७ कट्ठा १४ धुर जग्गामा बनेका घर–टहरा तोकिएको समयभित्र हटाउन निर्देशन दिएकी छन् ।

उक्त पत्रको आधारमा गाउँपालिका अध्यक्ष जसवन्त यादवले पनि सार्वजनिक सूचना जारी गर्दै जग्गा खाली गरी धार्मिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न आग्रह गर्नुभएको छ । तोकिएको अवधिभित्र अटेर गरे कानुनअनुसार बल प्रयोग गरी संरचना हटाइने र त्यसको खर्च अतिक्रमणकारीबाटै असुल गरिने चेतावनीसमेत दिइएको छ ।

लामो समयदेखि राजनीतिक दबाब र हस्तक्षेपका कारण विवाद समाधान हुन नसकेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्दै आएका थिए । स्थानीय बासिन्दा उप्रान्त यादवका अनुसार अहिले दुवै निकायका प्रमुखले औपचारिक निर्णय लिएपछि मठको जग्गा जोगिने आशा बढेको छ ।

गाउँपालिकाले ७ दिनभित्र स्वतः संरचना नहटाए सुरक्षा निकायको सहयोगमा डोजर प्रयोग गरी जग्गा खाली गराउने तयारी गरेको जनाएको छ । यस कदमले धार्मिक सम्पदाको संरक्षणमा नयाँ आशा जगाएको स्थानीयको प्रतिक्रिया छ ।

सम्बन्धित पोस्टहरुः