जीतपुर बजारमा फूटपाथ र सटर व्यवसायी विवाद चर्कियो

बारा , पुष – १५

बाराको जीतपुर बजारमा फूटपाथ र सटर व्यवसायीबीच विवाद चुलिएको छ। वीरगंज–पथलैया सडकखण्डअन्तर्गतको बजारमा केही व्यवसायीले अनधिकृत रूपमा साइकल र ठेला पसल सञ्चालन गर्दा सटर व्यवसायी मर्कामा परेको बताउँछन्। उनीहरूले फूटपाथ व्यवसाय हटाएर स्थानीय व्यवसाय सुरक्षित गर्न जीतपुरसिमरा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

उपमहानगरपालिकाले १५ दिने सूचना जारी गर्दै फूटपाथ व्यवसायीलाई खाली गराउन आग्रह गरेको थियो। तर, फूटपाथ व्यवसायीहरूले दुई दिनदेखि प्रदर्शन गर्दै चक्काजाम गरेका छन्।

आज उपप्रमुख भोला अधिकारीको संयोजकत्वमा सभाहलमा सरोकारवालासँग बैठक भएको छ। बैठकमा व्यवसायीहरूले बिहारबाट आएका बाह्य सटर व्यवसायीले स्थानीय व्यवसायीलाई मर्का पारेको भन्दै उनीहरूको माफी नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

फूटपाथ व्यवसायी रीना बजगाईंले बाह्य व्यवसायीहरूले घाटा खेपिरहेको स्थानीय व्यवसायीलाई मर्कामा पारेको भन्दै समस्या समाधानमा सरोकारवालाले गम्भीर पहल गर्नुपर्ने बताइन्। जुत्ताचप्पल व्यवसायी राहुल चमारले आफ्नो परिवार पाल्न यही व्यवसायमा निर्भर रहेको बताए।

वडा नं. ७ का अध्यक्ष सुनील गुप्ताले समस्या समाधान नभएसम्म विवाद दोहोरिने र दीर्घकालीन समाधानका लागि निकायले सक्रिय पहल गर्नुपर्ने बताए।

सम्बन्धित पोस्टहरुः