प्याब्सन टी–१०ः ब्लु हेभन, लिटिल फ्लावर एकेडेमी उपाधि जित्न सफल

वीरगंज १५ पुस। दोस्रो संस्करणको प्याब्सन टी–१० गल्र्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिताको फाइनल खेल मंगलवार सम्पन्न भएको छ।

आदर्शनगरस्थित रंगशालामा सम्पन्न फाइनल खेल अन्तर्गत जुनियर बोयजतर्फ ब्लु हेभन स्कूलले साउथ जोन स्कूललाई पराजित गर्दै यस वर्षको उपाधि जित्न सफल भयो भने साउथ जोन स्कूल उपविजेतामा सीमित रह्यो।

गल्र्सतर्फ लिटिल फ्लावर एकेडेमी स्कूलले नेशनल एकेडेमी स्कूललाई हराउँदै च्याम्पियन बन्न सफल भयो, जहाँ नेशनल एकेडेमी उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रिति साहनी ‘म्यान अफ द म्याच’ घोषित भइन। गल्र्सतर्फ साउथ जोन माध्यमिक विद्यालय र जुनियर बोयजतर्फ मनकामना सेकेन्डरी स्कूलले तेस्रो स्थान हासिल गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेले विजेता तथा उपविजेता विद्यालयहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो।

प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्याब्सन मधेस प्रदेश सल्लाहकार मनि पाख्रिङ, लालबाबु पटेल, प्याब्सन जिल्ला अध्यक्ष स्वरूप प्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशिला शाह, सचिव अशोक संग्रौला, हिसान जिल्ला उपाध्यक्ष आलोक चौरसिया, नगर कोषाध्यक्ष सुरज बाबु पटेल, सदस्य विजय बल, विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत प्याब्सन वीरगंज नगर उपाध्यक्ष शर्मानन्द कुशवाहा, सहजीकरण नगर सचिव अमित आलोकले गर्नुभएको थियो।

सम्बन्धित पोस्टहरुः