साफीको एमबिबिएस अध्ययनको लागि सिइओ यादवले गरे तीन लाख सहयोग

वीरगंज, १६ पुस । दलित परिवारका निकै गरीब सत्यनारायण साफीको एमबिबिएस अध्ययनको लागि नेशनल लघुवित्त वित्तीय संस्थाका सिइओ रामबहादुर यादवले आर्थिक सहयोग गरेका छन् ।

सिइओ यादवले सत्यनारायण साफीको घरमा पुगेर रु. तीन लाखको चेक हस्तान्तरण गरेका हुन् ।

आफ्ना जिल्लाका गरिबहरुलाई सहयोग गर्दै आएका यादवले साफीको उच्च अध्ययनको सपना पूरा गर्न उनले आर्थिक सहयोग गरेको बताए ।

सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा श्रीपुर गाउँको फुसको झुप्रोमा जीवनयापन गर्दै आएका दलित समुदायका सत्यनारायण साफीले चिकित्सा शिक्षा आयोगले गत १५ कात्तिकमा लिएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए ।

दलित समुदायका सत्यनारायणको परिवारसित सम्पत्तिका नाममा घर भएको साढे चार धुर घडेरी मात्र छ । उनका बुबा मधुरी साफी तीन वर्ष अघिसम्म वैदेशिक रोजगारीमा थिए । त्यसपछि घर फर्केर यतै मजदुरी गर्न थाले । मधुरीका श्रीमती, तीन छोरी र दुर्ई छोरा छन् । जेठा छोरा सत्यनारायणले २०७७ मा गाउँँकै जनता माध्यमिक (प्राविधिक) विद्यालय, बरियारपट्टीबाट एसईई गरेका थिए ।

एसईईमा राम्रो अङ्क आएपछि हौसिएका उनले २०७९ मा विराटनगरको अरनिको स्कुलबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरे । उनी २०८० मा तयारीका लागि काठमाडौं गए । तर, आर्थिक समस्याले दुर्ई महिनामै गाउँँ फर्किनुपर्यो ।

त्यसपछि आमाबुबासँगै गाउँँमै निर्माण क्षेत्रमा मजदुरी गर्न थाले । उनले २ वर्ष मजदुरी गर्दै आएका थिए ।

मजदुरीबाट आएको पैसाले किताब किनेर स्वाध्ययन थाले । र, चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा छात्रवृत्तिमा नाम निकाल्न सफल भए । यो उनले दोस्रो पल्ट दिएको परीक्षा हो ।

आमा सुनिताले छिमेकीसँग ८० हजार सापटी लिएर दिएपछि सत्यनारायण यही ८ पुसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भर्ना भएका छन् । कलेजको शुल्कमा साढे ६४ हजार खर्च भएको छ । छात्रवृत्तिमा एमबीबीएस पढ्न पाएपछि सत्यनारायण र उनको परिवारमा खुशीयाली छाएको त छ तर चिन्ता पनि छ । छात्रवृत्ति पाए पनि पढाइ शुल्कबाहेक बसोबास, खानपान, यातायात, पढाइ सामग्रीमा ठूलो खर्च लाग्छ । पढाइ पूरा गर्न सबै गरेर कम्तीमा १५ लाख रुपियाँँ खर्च हुन्छ ।

दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको परिवारलाई यो खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको बेला सिइओ यादवले रु तीन लाख आर्थिक सहयोग गरेका छन् ।

सम्बन्धित पोस्टहरुः