वीरगंज , पुस – १६
मधेस प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएसँगै प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री कृष्ण यादवले थप ६ जना मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित १२ सदस्यीय बनेको हो।
सरकार गठन भएको करिब एक महिनापछि गरिएको यो विस्तारसँगै लामो समयदेखि अपूर्ण रहेको मन्त्रिपरिषद् पूर्ण बनेको छ। नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनीहरूलाई शपथ गराएका हुन्।
नयाँ मन्त्रीहरूमा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण तथा फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मन्त्रिपरिषद् पूर्ण भएपछि प्रदेश सरकारको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।














