वीरगंज, पुस १६
यस वर्षको पर्सागढी विजय महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। बुधबार पर्सागढी मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी तयारीबारे जानकारी गराइएको हो।
पर्सागढी नगरपालिका, पर्सागढी मन्दिर व्यवस्थापन समिति र श्रीजंग गण वीरगंजको संयुक्त आयोजनामा २११औँ पर्सागढी विजय उत्सव यही पुस १९ गते मनाइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामजनम चौधरीका अनुसार विजय महोत्सवका दिन १४ वटा सामुदायिक विद्यालयका विद्यार्थी झाँकीसहित सहभागी हुनेछन्। यसैगरी मधेश प्रदेशका पर्यटन मन्त्री र जिल्लाका सबै पालिकाका प्रमुखहरूलाई पनि कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिएको उनले बताए।
कार्यक्रममा खुकुरी नाच, नेपाली सेनाको ब्याण्ड बाजा, स्थानीय थारू संस्कृतिको नाच तथा ऐतिहासिक र्याली प्रदर्शन गरिनेछ। साथै वीर पुर्खाहरूको सम्मान र स्थानीय उत्पादन प्रवर्द्धनका लागि विभिन्न स्टलहरू पनि राखिनेछ।
वि.सं. १८७१ साल पुस १८ र १९ गते इस्ट इन्डिया कम्पनीको ब्रिटिस सेनासँग पर्सागढीमा भएको लडाइँमा नेपालले विजय हासिल गरेको ऐतिहासिक स्मरणमा हरेक वर्ष यो महोत्सव मनाइँदै आएको हो। उक्त लडाइँ पर्सागढीकै स्थानीय रञ्जित चौधरीको नेतृत्वमा लडिएको थियो।
पत्रकार सम्मेलनमा नगर प्रमुख गोकर्ण पाठक र समाजसेवी बृजमोहन चौधरीले पर्सागढी लडाइँ राष्ट्रियताका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, यस उत्सवले इतिहास, पहिचान र राष्ट्रिय चेतनालाई जोड्ने बताएका छन्।













