वीरगंज उद्योग वाणिज्य संघ र भारतको रक्सौल चेम्बर अफ कमर्शबीच छलफल

वीरगंज, १७ पुस। वीरगंज उद्योग वाणिज्य संघ र भारतको रक्सौल चेम्बर अफ कमर्शबीच बुधवार छलफल भएको छ।
आपसी व्यापारिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले स्वागत तथा सौहार्दपूर्ण भेटघाट कार्यक्रम वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भएको हो।
कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष माधव राजपालले रक्सौल चेम्बर अफ कमर्शका पदाधिकारी हरूलाई एक समारोहका बीच स्वागत गर्नुभएको थियो।
स्वागत मन्तव्यका क्रममा कार्यवाहक अध्यक्ष राजपालले नेपाल–भारत सीमावर्ती क्षेत्र रक्सौलमा दिनप्रतिदिन बढ्दै गएको सवारी जाम, अव्यवस्थित गाडी पार्किङ, नेपाली नागरिकहरू प्रति भारतीय सुरक्षाकर्मीको असमान व्यवहार र दृष्टिकोण तथा रक्सौल क्षेत्र लागुऔषध कारोवारको अखडा बन्दै गएको विषयप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। यी समस्याका कारण सीमा क्षेत्रमा आवतजावत गर्ने व्यापारी, सर्वसाधारण तथा यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले सम्बन्धीत निकायहरूबीच समन्वय गरी छिटोभन्दा छिटो दीर्घकालीन समाधान खोजिनु आवश्यक रहेको धारणा राख्नुभयो।
मन्तव्यका क्रममा रक्सौल चेम्बर अफ कमर्शका अध्यक्ष राकेश कुमार कुश्वाहाले रक्सौल क्षेत्रमा देखिएको सवारी जामको स्थायी समाधानका लागि ओभरब्रिज निर्माणसम्बन्धी योजना स्वीकृत भइसकेको र छिट्टै निर्माण कार्य शुरू हुने जानकारी दिनुभयो। साथै, लागुऔषध कारोवार नियन्त्रणका लागि रक्सौलका प्रहरी प्रमुख स्वयम सक्रिय रहेको बताउँदै हालको अवस्था अघिल्लो समयको तुलनामा धेरै हदसम्म सुधारिएको दाबी गर्नुभयो। नेपाली नागरिकप्रति भारतीय प्रहरीको व्यवहारवारे उठाइएका गुनासोप्रति संवेदनशीलता व्यक्त गर्दै उहाँले यस विषयमा सम्बन्धीत निकायसँग समन्वय गरी आवश्यक पहल गरिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा रक्सौल चेम्बर अफ कमर्शका महासचिव शम्भु प्रसाद चौरसियाले सीमा क्षेत्रका साझा समस्या समाधानका लागि नेपाल–भारतका उद्योगी तथा व्यवसायीबीच निरन्तर संवाद, आपसी विश्वास र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका तर्फबाट महासचिव शिवजी प्रसाद साह, सचिव प्रेमचन्द्र गोयल, सहसचिव अनुप अग्रवाललगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी रक्सौल चेम्बर अफ कमर्शका तर्फबाट वरिष्ठ उपाध्यक्ष नितिन कुमार, उपाध्यक्ष दिनेश प्रसाद, गिरिधारीलाल श्रीवास्तव, रमेश कुमार गुप्ता, कार्यक्रम संयोजक विश्वनाथ प्रसाद लगायतका प्रतिनिधिहरूको उल्लेखनीय सहभागीता रहेको थियो।
कार्यक्रमको अन्त्यमा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष आशिष कुमार लाठले धन्यवाद ज्ञापन गर्दै यस्ता भेटघाटहरूले सीमा क्षेत्रको व्यापार, आवागमन तथा आपसी सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आउँदा दिनहरूमा समेत यसकिसिमको छलफल र अन्तरसम्वाद हुनु पर्नेमा जोड दिनुभएको थियो।

सम्बन्धित पोस्टहरुः