वीरगंज , पुस – १९
रौतहटको गौरस्थित करदाता सेवा कार्यालय खारेजीको विरोधमा उद्योग वाणिज्य सङ्घ रौतहटले गर्दै आएको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालसहित सरोकारवालाबीच भएको वार्तामा सहमति जुटेपछि आन्दोलन फिर्ता लिइएको उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष रबिन्द्रनाथ गोपालीले जानकारी दिए ।
सहमति अनुसार करदाता सेवा कार्यालयबाट हाल प्रदान हुँदै आएका सेवाहरू स्थानीय तह र कोष तथा लेखा नियन्त्रक कार्यालयको क्षमता विकास नभएसम्म गौरबाटै निरन्तर जारी राख्न अर्थ मन्त्रालयसँग अनुरोध गरिने छ। साथै गौरमा आन्तरिक राजस्व कार्यालय स्थापना गर्न पहल गर्ने निर्णय भएको छ।
यसअघि करदाता सेवा कार्यालय खारेजीको विरोधमा विरोध प्रदर्शन, धर्ना तथा तालाबन्दीका कार्यक्रम सञ्चालन गरिएको थियो।















