नगरबासीलाई लक्षित गर्दै दाउरा वितरण कार्यक्रम

रौतहट, १९ पुस ।  बाक्लो हुस्सु र कुहिरोसँगै चिसो स्याँठ बढ्दै गएपछि गरूडा नगरपालिकाले नगरबासीलाई लक्षित गर्दै दाउरा वितरण कार्यक्रम सञ्चालन गरेको छ ।

गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले कठ्याङ्ग्रिने चिसोबाट नगरबासीलाई जोगाउने उद्देश्यले आगो ताप्न आवश्यक दाउरा वितरण गर्नु भएको हो ।

चिसोका कारण दैनिक जनजीवन प्रभावित बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै नगर प्रमुख जैसवाल स्वयं उपस्थित भई नगरका प्रत्येक वडामा दाउरा वितरण गरिएको जानकारी दिनुभयो ।

शनिवार बिहानै देखि नगरका विभिन्न चौक–चौतारा, मठ–मन्दिर, प्रहरी चौकी तथा अन्य सार्वजनिक स्थलहरूमा आगो बाल्नका लागि काठ वितरण गरिएको उहाँले बताउनुभयो। अन्य धेरै पालिकाहरूले चिसो बढ्दासमेत दाउरा वितरण नगरेको अवस्थामा गरूडा नगरपालिकाले भने यो कार्यक्रम यस वर्ष मात्र होइन, विगतका वर्षहरूदेखि नै निरन्तर रूपमा सञ्चालन गर्दै आएको नगर प्रमुख जैसवालले उल्लेख गर्नुभयो । उहाँले बढ्दो चिसोका कारण कुनै पनि व्यक्ति समस्यामा नपरोस् भन्ने उद्देश्यले आवश्यकता अनुसार थप सामग्रीसमेत वितरण गरिने प्रतिबद्धता सञ्चारकर्मीसँग व्यक्त गर्नुभयो । नगरपालिकाको यस सराहनीय कार्यबाट नगरबासीहरू खुशी भएका छन् भने उनीहरूले नगर प्रमुख जैसवाललाई विशेष धन्यवादसमेत व्यक्त गरिरहेका छन् ।

सम्बन्धित पोस्टहरुः