पर्सा , पुस — १९
जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीबीच एकीकरणपछि आयोजित समीक्षा बैठक आज पर्साको वीरगंजस्थित पुजन होटलमा सम्पन्न भएको छ।
बैठकमा पूर्व मन्त्री प्रदीप यादव,वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित पार्टीका केन्द्रीय तथा संघीय परिषद सदस्यहरू र भ्रातृ संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्री यादवले पार्टी एकीकरणले संगठनलाई थप मजबुत बनाएको र कार्यकर्तामा नयाँ ऊर्जा थपिएको बताए। उनले कार्यकर्ताको एकता, उत्साह र प्रतिबद्धताले पार्टीलाई आगामी दिनमा अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।
यादवले आगामी फागुन २१ गते हुने निर्वाचनतर्फ पार्टी केन्द्रित रहेको उल्लेख गर्दै संगठन, कार्यकर्ता र जनताको बलियो साथबाट सकारात्मक परिणाम आउनेमा पूर्ण भरोसा व्यक्त गरे।
बैठकमा संगठन सुदृढीकरण, निर्वाचन तयारी र एकीकृत रूपमा अघि बढ्ने विषयमा छलफल गरिएको जनाइएको छ।














