बारा–३ मा एमालेको उम्मेदवार सिफारिस बहिष्कार गर्ने साहको घोषणा

बारा , पुस — १९

बारा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले गरेको उम्मेदवार सिफारिस प्रक्रिया विवादमा परेको छ। आन्तरिक लोकतन्त्र र पारदर्शिता बेवास्ता गरिएको आरोप लागेको छ।

नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य, पूर्व मन्त्री तथा निवर्तमान सांसद ज्वाला साहले सिफारिस प्रक्रिया बलजफ्ती, गुटबन्दी र प्रतिशोधका आधारमा गरिएको बताएकी छन्।

उनले स्थानीय तहका कार्यकर्ताको मत र छलफल बेवास्ता गर्दै गुपचुप रूपमा उम्मेदवार सिफारिस गरिएको आरोप लगाएकी छन्।

साहका अनुसार क्षेत्रीय समन्वय समितिको बैठकमा सात जनाको नाम प्रस्ताव भए पनि सहमतिमा पुग्न नसक्दा केही नेताले बलजफ्ती रूपमा उम्मेदवार सिफारिस गरेका हुन्।

उनले पार्टी सर्कुलर र विधानविपरीत भएको भन्दै उक्त प्रक्रिया अस्वीकार्य रहेको बताएकी छन्।

महिला नेतृत्वलाई ओझेलमा पारिएको उल्लेख गर्दै साहले बारा–३ को उम्मेदवार छनोट प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेकी छन्।

विवादपछि केन्द्र वा प्रदेश तहबाट पुनः छलफल वा छानबिन हुने सम्भावना बढेको छ।

सम्बन्धित पोस्टहरुः