बारा, १९ पुस । बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरीमा शनिवारदेखि बहुअरी सुपर लिग क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शुरू भएको छ।
प्रतियोगिताको उदघाटन खेलमा बहुअरी टाइगर क्लबले राइजिङ स्टार क्रिकेट टिमलाई ६१ रनले पराजित गरेको छ।
राइजिङ स्टार क्रिकेट टिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको बहुअरी टाइगर क्लबले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
जवाफमा ब्याटिङ गर्न आएको राइजिङ स्टार क्रिकेट टिमले शुरूवात राम्रो गर्न सकेन र ५२ रनमै सबै विकेट गुमाउँदै हार बेहोर्न बाध्य भयो। यससँगै बहुअरी टाइगर क्लबले ६१ रनको फराकिलो जित निकाल्दै प्रतियोगितामा प्रभावशाली उपस्थिति जनाएको छ। बहुअरी टाइगर क्लबका चन्दन पटेल ‘म्यान अफ द म्याच’ घोषित भए। उनले २५ रनको योगदान दिनुका साथै ३ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले।
प्रतियोगिताको उदघाटन परवानीपुर गापाका प्रमुख रामक्षेत्री प्रसाद कुर्मीले गर्दै खेलकुदले युवाको भविष्य उज्यालो बनाउने उल्लेख गर्दै खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गरे। साथै गाउँँपालिकाबाट यस्ता खेलकुद गतिविधिमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा वडाध्यक्ष रामेश्वर साह कलवार, अजय पटेल, लालबहादुर पटेल, युवा नेता योगेन्द्र गुप्ता, मोहन पटेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।













