धनुषामा मस्जिद तोडफोड : वीरगंजमा मुस्लिम समुदयको प्रदर्शन

वीरगंज , पुस – २०

धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाइएको घटनाको विरोधमा वीरगंज आइतबार बिहान मुस्लिम समुदायले प्रदर्शन गरेका छन् ।

धनुषाको धनुकमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गर्नुका साथै कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि त्यसको विरोधस्वरूप प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरूले वीरगंजको घण्टाघर, मुर्ली, छपकैयास्थित इदगाह चोकलगायत स्थानमा सडकमा टायर बाल्दै नाराबाजी गरेका थिए । प्रदर्शन उग्र बन्दै जाँदा छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप समेत भएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ । उक्त क्रममा एक जना प्रहरी सामान्य घाइते भएका छन् ।

प्रदर्शनमा सहभागीहरूले मस्जिदमा पसेर तोडफोड गर्ने तथा धार्मिक ग्रन्थ कुरान जलाउने दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

सम्बन्धित पोस्टहरुः