सामाजिक र धार्मिक सद्भाव बिगार्ने गतिविधि नगर्न पर्सा प्रशासनको अपिल

वीरगंज , पुस — २०

जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्याहउने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई कडा अपिल गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता भंग हुने खालका सामग्री प्रकाशन तथा प्रचार नगर्न सचेत गराइएको छ।

विज्ञप्तिमा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा कुनै पनि धर्म, जात वा समुदायविरुद्ध घृणा फैलाउने, अफवाह फैलाउने तथा अपमानजनक सामग्री साझा गर्नु कानुनविपरीत रहेको स्पष्ट गरिएको छ। यस्ता गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको र संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।

मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ अनुसार धार्मिक भावनामा आघात पुर्यापउने तथा सार्वजनिक नैतिकता भंग गर्ने कार्यमा कैद र जरिवानाको व्यवस्था रहेको प्रशासनले स्मरण गराएको छ।

शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै नागरिक, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न र असत्य तथा उत्तेजक सूचना सेयर नगर्न आग्रह गरिएको छ।

सम्बन्धित पोस्टहरुः