वीरगंज, २० पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले जगरनाथपुरबाट स्रोत नखुलेको १० लाख रुपियाँँभन्दा बढी नगदसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा पर्साको सखुवा प्रसौनी गाउँँपालिका वडा नं. ४ देवरवाना बस्ने २२ वर्षीय पवन कुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन। प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको कुल दश लाख दुर्ई हजार दश रुपियाँँ बरामद गरेको छ। साथै, उनीहरूले प्रयोग गरेको ना. १६ प ३०२० नम्बरको स्प्लेन्डर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीले उनीहरूलाई शुक्रवार पर्सा जिल्लाको जगरनाथपुर गाउँँपालिका वडा नं. ३ गडैयाटोल स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो। उनीहरूले सो रकम अवैध हुण्डी कारोवारका लागि बोकेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
पक्राउ परेका तीनै जना विरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम ‘हुण्डी सम्बन्धी कारोवार गर्न नहुने’ कसूरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूलाई थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिई कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।













