वीरगंज , पुस – २१
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगंजमा आज बिहानैदेखि देखिएको तनावपूर्ण अवस्था क्रमशः सामान्य बन्दै गएको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार सुरक्षा निकायको सक्रियता, प्रशासनको सतर्कता र नागरिकको सहयोगका कारण स्थिति नियन्त्रणमा आएको हो । उनले निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा बनाइएकाले कुनै पनि अप्रिय घटना हुन नदिइएको जानकारी दिए ।
दाहालले सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गर्दै अफवाह, उत्तेजक अभिव्यक्ति तथा सामाजिक सञ्जालमार्फत गलत सूचना नफैलाउन अनुरोध गरेका छन् । अवस्था पूर्ण रूपमा सहज नहुँदासम्म प्रशासन उच्च सतर्कतामा रहने उनले बताए ।













