वीरगंज , पुस – २१
नेपाल पत्रकार महासंघ पर्सा शाखाले धार्मिक समुदायको प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार केही समययता वीरगंजलगायतका स्थानमा भएका धार्मिक प्रदर्शनको समाचार संकलनका क्रममा पत्रकारहरूमाथि दुर्व्यवहार र आक्रमणका घटना भएका छन् । विशेषगरी भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि प्रदर्शनको दृश्य खिचिरहेका बेला मोबाइल खोस्ने र आक्रमण गर्ने कार्य निन्दनीय रहेको महासंघको ठहर छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । साथै, स्वतन्त्र रूपमा समाचार संकलन गर्ने अधिकारको सम्मान गर्न सबै पक्षलाई आग्रह गरिएको छ ।
महासंघले धार्मिक प्रदर्शनको समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीहरूलाई संयमता र पेशागत आचारसंहिता पालना गर्न अपिल गर्दै अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा सामाजिक सद्भावमा असर नपर्ने गरी जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।
विज्ञप्तिमा पत्रकार आचारसंहिता विपरीत सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई सचेत गराउँदै शान्ति, सद्भाव र सुरक्षाको वातावरण सुनिश्चित गर्न सरोकारवाला सबै पक्षसँग सहकार्यको अपेक्षा गरिएको छ ।













