नालंदामा नेपाली पत्रकारहरू सम्मानित

वीरगंज, २१ पुस । भारत, बिहारमा सम्पन्न दुर्ईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा मधेश प्रदेशका ६ जना पत्रकारहरु सम्मानित भएका छन् ।
सार्क जर्नलिस्ट फोरम इंडिया च्याप्टर बिहार, नालन्दा खुला विश्वविद्यालय, अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेको संयुक्त आयोजनामा पौष २० र २१ गते सम्पन्न कार्यक्रममा सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनका मुख्य अतिथि पूर्व सिक्किम राज्यपाल माननीय गंगा प्रसादले पत्रकारहरुलाई सम्मानित गरेका हुन् ।

सम्मेलनमा मौरिससका पूर्व उपप्रधानमन्त्री हरिश बुद्धूकी धर्मपत्नी तथा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुद्धू, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, तथा थाइल्याण्डका प्रतिनिधि डा. पी. सी. चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागीता रहेको थियो।

यस सम्मेलनमा नेपालको मधेश प्रदेशबाट ६ जना पत्रकारहरू अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन। सम्मानित हुने पत्रकारहरूमा सदाब मलिक, दिपेन्द्र प्रजापति, अभिलाष गुप्ता, शैलेश गुप्ता, राजन कुमार सिंह र सुभास राम रहेका छन। उनीहरूको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्मेलनमा आधा दर्जन पदमश्री सम्मानित व्यक्तित्वहरू सहित पत्रकार, चिकित्सक, खेलाडी, शिक्षक, व्यवसायी, समाजसेवी, साहित्यकार, लेखक तथा अनुसन्धान विद्यार्थीहरूको उल्लेखनीय सहभागीता रहेको थियो। सहभागी विशिष्ट व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको थियो। साथै भारतका विभिन्न राज्यहरूबाट आएका प्रतिनिधि, पद्मश्री सम्मानित व्यक्तित्व तथा कुलपति गरी करिब २०० प्रतिनिधि सम्मेलनमा सहभागी भएका थिए।

सम्बन्धित पोस्टहरुः