पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न

पर्सा, २१ पुस ।

पर्साको पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा आज सम्पन्न भएको छ। पोखरिया नगरपालिका सभाहलमा आयोजित नगरसभाको उद्घाटन नगरप्रमुख प्रद्युमन चौहानले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।

नगरप्रमुख चौहानले नगरपालिकाको विकासका लागि आफू निरन्तर सक्रिय रहेको बताउँदै मालपोत, नापी शाखा तथा प्रदेशिक अस्पताल नगरपालिका भित्र ल्याइएको जानकारी दिए।

इलाका प्रशासन कार्यालयको स्थापना प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उनले बताए। साथै नेरा मावि महोबनीको भवन निर्माणका लागि टेन्डर भइसकेको र रामदेव माविको नयाँ भवन निर्माणको व्यवस्था गरिएको उल्लेख गरे।

घाटा बजेटका कारण केही विकास निर्माणका काममा ढिलाइ भएको स्वीकार गर्दै उनले माघ महिनादेखि बाँकी योजनाहरू कार्यान्वयन हुने बताए। उपनगरप्रमुख रुबी ठाकुरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बजेट व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा बजेट संशोधन गरी विकासका कामलाई तीव्रता दिइने बताए।

नगरसभामा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रम स्वास्थ्य शाखा सहसंयोजक शिवसिंह पटेलले सञ्चालन गरेका थिए।

सम्बन्धित पोस्टहरुः