वीरगंज,२२ पुस –
वीरगंजमा हिजो साँझ ६ बजेदेखि लागू गरिएको कर्फ्यु आज बिहान ८ बजेसम्मका लागि तोकिएको भए पनि अवस्था पूर्ण रूपमा सामान्य नहुँदा कर्फ्युको अवधि थप गरिएको छ।
सुरक्षा समितिका एक सदस्यका अनुसार जिल्ला प्रशासन कार्यालय पर्साले आज औपचारिक निर्णय गर्दै कर्फ्यु दिउँसो १ बजेसम्मका लागि निरन्तरता दिएको छ।
प्रशासनका अनुसार संवेदनशील क्षेत्रहरूमा अझै पनि सतर्कता आवश्यक देखिएकाले शान्ति–सुरक्षा कायम राख्न कर्फ्यु अवधि थप्नु परेको हो। हाल वीरगंजको मुख्य चोक, बजार क्षेत्र र संवेदनशील स्थानहरूमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति छ भने गस्तीसमेत कडा बनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले अवस्था निरन्तर मूल्याङ्कन भइरहेको जनाउँदै आवश्यक परे थप निर्णय लिन सकिने संकेत गरेको छ। साथै सर्वसाधारणलाई अफवाहमा नपर्न, संयमता अपनाउन र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरिएको छ।
प्रशासनका अनुसार दिउँसो १ बजेपछि परिस्थितिको समीक्षा गरी कर्फ्यु खुकुलो पार्ने वा थप गर्नेबारे पुनः निर्णय सार्वजनिक गरिनेछ।
















