– राजेशमान सिंह
वीरगंज बाहिर उत्पन्न भएका विवादलाई वीरगंजमा जबर्जस्ती थोपरेर शहरलाई अशान्त बनाउने, धार्मिक भावना भड्काउने र आफूलाई धर्मको ठेकेदार ठान्ने सीमित व्यक्तिहरूलाई प्रशासनले किन अझै कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन ? वीरगंज किन बारम्बार केही व्यक्तिको निहित स्वार्थ पूरा गर्ने प्रयोगशाला बन्न बाध्य छ ? सदियौंदेखि जोगिँदै आएको हाम्रो भाईचारा, सहअस्तित्व र सद्भावलाई नियोजित रूपमा भत्काउन खोज्नेहरूलाई जरैदेखि कारबाही नगरेसम्म यस्ता समस्या दीर्घकालीन रूपमा समाधान हुँदैनन् ।
शान्ति–सुरक्षा कायम गर्नु पूर्णतः राज्य र सुरक्षा निकायको संवैधानिक जिम्मेवारी हो, जहाँ समाजका अगुवा र सरोकारवालाको भूमिका सहजिकरण र सहकार्यकाे हुने हाे । सम्भावित सुरक्षा जोखिमको आँकलन, विश्लेषण, नियन्त्रण र दोषीमाथि कानुनी कारबाही गर्ने सम्पूर्ण संयन्त्र सरकारसँग हुँदाहुँदै पनि, जब–जब बाहिरबाट आयातित विषयका कारण धार्मिक तनाव चर्किन्छ, तब सम्बन्धित निकाय आफ्नो जिम्मेवारीबाट किन पञ्छिने प्रयास गर्छ ?
आफ्नो स्वार्थ पूरा गर्न पूरै शहरलाई अशान्त, भयभीत र आक्रान्त बनाउनेहरूलाई पक्राउ गरी कडा कारबाही गर्न प्रशासन किन हिच्किचाइरहेको छ ? वीरगंज कुनै व्यक्तिको, कुनै समूहको वा कुनै एजेन्डाको बन्धक होइन—यो शान्ति, सद्भाव र आपसी विश्वासको साझा शहर हो, र यसलाई भड्काउन खोज्ने जो–कोहीमाथि निष्पक्ष कानुनी कारबाही हुनु नै न्याय, स्थायित्व र दीर्घकालीन समाधानको एकमात्र आधार हो ।
“हाम्रो स्पष्ट मान्यता छ—धर्म भावनासँग जोडिएको विषय हो, कसैले कसैको भावनासँग खेल्न पाउँदैन, र जो भावना भड्काएर समाज बिथोल्न खोज्छ उसलाई कुनै पनि हालतमा छुट दिन मिल्दैन। आउनुहोस्, आपसी सद्भाव र भाईचारा अझ सुदृढ बनाउँदै शान्त, समुन्नत र “वैभव वीरगंज” तर्फ एकजुट भएर अघि बढौँ।













