वीरगंजमा दुई समुदायबीचको विवाद सुल्झियो, सद्भाव र्‍याली निकाल्ने सहमति

वीरगंजमा , २२ पुस –

वीरगंजमा उत्पन्न दुई समुदायबीचको विवाद सुल्झिएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वपक्षीय बैठकले आपसी समझदारीका आधारमा विवाद समाधान गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार आज अपराह्न ४ बजे सद्भाव र्‍याली निकाल्ने सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बैठकले पाँचबुँदे निर्णय गर्दै वीरगञ्जको अवस्था सामान्य बनाउने सहमति गरेको जानकारी दिए।

सहमति अनुसार अन्य मुलुक वा स्थानमा भएका घटनालाई लिएर वीरगंजमा कुनै पनि पक्षले विरोध वा प्रदर्शन नगर्ने निर्णय गरिएको छ। यस्ता विषयमा असहमति भए पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ज्ञापनपत्र बुझाउने र त्यसपछि मात्रै आन्दोलनका कार्यक्रम गर्ने सहमति भएको छ।

सामाजिक सद्भावमा खलल नपुग्ने गरी सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्ने र सबै पक्षले आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासनमा राख्ने प्रतिबद्धता व्यक्त गर्ने सहमति समेत भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

गत सोमबार हिन्दुवादी सङ्गठनहरूले हिन्दु देवीदेवतामाथि अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै प्रदर्शन थालेपछि वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो। यसअघि धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए।

यसैबीच, प्रशासनले जारी गरेको कर्फ्यु आदेश आज साँझ ६ बजेसम्म कायम रहने जनाएको छ।

सम्बन्धित पोस्टहरुः