वीरगंज , २२ पुस –
धनुषामा मस्जिद तोडफोडको घटनापछि सुरु भएको साम्प्रदायिक तनावका कारण केही दिन अशान्त बनेको वीरगंजमा प्रशासनले कर्फ्यु हटाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मङ्गलवार अपराह्न ३:३० बजेदेखि कर्फ्यु पूर्ण रूपमा खारेज गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रशासनका अनुसार हिन्दु र मुस्लिम पक्षबीच सर्वपक्षीय बैठकमा प्राप्त सहमति र शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएपछि कर्फ्यु हटाउने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा भएको बैठकमा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरू सहभागी थिए । बैठकले अन्य मुलुक वा स्थानमा भएका घटनाका आधारमा वीरगंजमा कुनै प्रदर्शन वा आन्दोलन नगर्ने निर्णय गरेको छ । असन्तुष्टि भएमा पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ज्ञापनपत्र बुझाउने र त्यसपछि मात्र कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
भविष्यमा धार्मिक र सामाजिक सद्भाव विरोधी गतिविधिहरू नियन्त्रण गर्न स्थायी “सद्भाव संयन्त्र” गठन गर्ने निर्णय गरिएको छ । संयन्त्रमा हिन्दु समुदायबाट रञ्जित साह र रञ्जन सिंह, मुस्लिम समुदायबाट मोहम्मद महबुब अलि र अलि असगर मदनी, अन्य धार्मिक समुदायबाट आवश्यक प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र नागरिक समाजका प्रतिनिधि रहनेछन् ।
बैठकले सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्दा धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावमा खलल नपुग्ने गरी जिम्मेवारीपूर्वक सामग्री प्रकाशन गर्न अनुरोध गरेको छ । साथै, सद्भाव भङ्ग गर्ने समूह वा व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रशासन सक्रिय रहने र सबै पक्षले आफ्ना सदस्यलाई अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न निर्देशन दिने सहमति भएको छ ।
बैठकमा उपस्थित सबै संस्था, पक्ष र अगुवाहरूले निर्णयहरूलाई आफ्ना वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने र विद्यमान परिस्थितिलाई सहज बनाउन थप विरोध कार्यक्रम नगर्ने प्रतिबद्धता पनि जनाएका छन् ।













