वीरगंज , २२ पुस
वीरगंज–०२ निवासी ७२ वर्षीय समाजसेवी रघुवीर गुप्ताले निधनपश्चात् आफ्नो आँखा (कर्निया) दान गरी मानवता र परोपकारको अद्वितीय उदाहरण प्रस्तुत गरेका छन ।
दिवंगत गुप्ताको इच्छाअनुसार उनका छोरा संजय कुमार गुप्ता र विनय कुमार गुप्ताले संयुक्त रूपमा आँखा दानको निर्णय कार्यान्वयन गर्दै पिताको चाहनालाई सम्मानपूर्वक पूरा गरे।
आँखा दानको यस पुण्य कार्यमा तेरापन्थ युवा समिति, बिरगंजका सक्रिय सदस्य लोकेश जैनले महत्वपूर्ण भूमिका निर्वाह गरे। उनले परिवारलाई आँखा दानका लागि प्रेरित गर्नुका साथै समाजमा आँखा दानको महत्वबारे जनचेतना फैलाउन योगदान दिए ।
यस अभियानमा रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले प्राविधिक सहयोग प्रदान गरेको थियो।
आँखा संकलन टोलीमा नेत्र अधिकृत हरिकान्त साह, आँखा कार्यकर्ता राजेश यादव, स्टाफ नर्स श्रीमती रञ्जिता तामाङ र स्टाफ नर्स रिया हिताङ सक्रिय रूपमा संलग्न रहनुभएको थियो।
टोलीको समर्पण र समयमै गरिएको प्रयासका कारण आँखा संकलन सफल भएको जनाइएको छ।
दिवंगत रघुवीर गुप्ताको यस योगदानले समाजमा आँखा दानको महत्व उजागर गर्नुका साथै अन्य व्यक्तिहरूलाई पनि मानवताको हितका लागि आँखा दान गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।
आँखा दानले दृष्टिविहीन व्यक्तिको जीवनमा उज्यालो ल्याउनुका साथै समाजमा परोपकार, सहानुभूति र मानवीय मूल्यको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।













