वीरगंज , २३ पुस –
राष्ट्रियसभा सदस्य चुनावका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले आउँदो माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय गरेको छ।
राष्ट्रियसभामा रिक्त हुन लागेको कुल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। हालका सदस्यहरूमध्ये फागुन २० गतेदेखि १९ जना सांसदको कार्यकाल समाप्त हुँदैछ।
तीमध्ये १८ सिटका लागि आज उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सुरु गरिएको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम पनि बिदा हुँदैछन् भने उहाँको स्थानमा पुनः सरकारकै सिफारिसमा मनोनयन गरिनेछ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ। यसअघि आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ।
आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार भोलि उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ।
राष्ट्रिय जनगणना २०७८ अनुसार मतदाता संख्या र मतभार पनि आयोगले सार्वजनिक गरिसकेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।
यसैबीच राष्ट्रियसभा चुनावका लागि कांग्रेस, एमाले, नेकपा, लोसपा र जसपा नेपालबीच सिट बाँडफाँडको अन्तिम प्रयास जारी छ। प्रारम्भिक सहमतिअनुसार कांग्रेस र एमालेले ७–७ सिट लिने, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ३ सिट पाउने र लोसपा तथा जसपा नेपालका लागि एक–एक सिट छुट्याउने खाका तयार भएको बताइएको छ।
उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले आज बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ।













