वीरगंज , २३ पुस –
आउँदो फेब्रुअरी ७ तारिख (माघ २४) देखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।
क्यानका अनुसार बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीमध्येबाट ९ जना अन्तिम छनोटमा पर्न सकेनन्। दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम चयन भएका छन्।
बन्द प्रशिक्षणमा रहेका कुशल मल्ल, आदिल अन्सारी, विनोद भण्डारी, भीम सार्की, साहब आलम, इशान पाण्डे, अभिनास बोहरा, प्रतिश जिसी र रुपेशकुमार सिंह भने विश्वकप टोलीमा अटाउन सकेनन्। दुई महिना अघि ओमानमा सम्पन्न विश्वकप छनोट खेल्ने टोलीमा रहेका कुशल मल्ल र आदिल अन्सारी यसपटक बाहिरिएका छन्।
उनीहरूको स्थानमा बसिर अहमद र शेर मल्लले टोलीमा अवसर पाएका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल) मा देखाएको प्रदर्शनका आधारमा उनीहरू अन्तिम १५ मा पर्न सफल भएका क्यानले जनाएको छ।
विश्वकपको समूह चरणमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले माघ २५ गते इंग्ल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ भने अन्तिम समूह खेल फेब्रुअरी १७ (फागुन ५) मा बंगलादेशसँग खेल्नेछ।
समूह चरणका सबै खेल भारतको मुम्बईस्थित वाङ्खडे मैदानमा हुनेछन्। नेपालले लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो। तेस्रो पटक विश्वकप खेल्ने नेपाली खेलाडीका रूपमा सोमपाल कामी एक्लो खेलाडी रहनेछन्।














