वीरगंज , २३ पुस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले पर्साले चारवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा २४ जनाको नाम सिफारिस गरेको छ।
चारै निर्वाचन क्षेत्रका क्षेत्रीय समन्वय कमिटीबाट सिफारिस भई आएका नामहरूलाई जिल्ला कमिटीले आवश्यक सुझावसहित मधेस प्रदेश कमिटीमा पठाएको एमाले पर्साका सचिव महेश दासले जानकारी दिए।
दासका अनुसार क्षेत्र नम्बर १ बाट प्रभु हजरा, बसरुद्धिन अन्सारी, इन्दु घिमिरे, सुन्दर कुर्मी, नवराज शर्मा, अरबिन्द सिंह र ममता गुप्ता गरी ७ जनाको नाम सिफारिस गरिएको छ।
त्यस्तै क्षेत्र नम्बर २ बाट निर्मला देवकोटा, राजकुमार गुप्ता, अरविन्द सिंह र मनोज कुशवाह गरी ४ जनाको नाम प्रदेश कमिटीमा पठाइएको छ।
क्षेत्र नम्बर ३ बाट भगवान प्रसाद कुर्मी, मन्जुर आलम, तेजप्रकाश निषाद, रामबाबु यादव, प्रमोद जयसवाल, राजकुमार गुप्ता, रुपेश पाण्डेय, मन्जु देवी कुर्मी, मनिर आलम र शिव पटेल गरी १० जनाको नाम सिफारिस गरिएको दासले बताए।
यद्यपि क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिसको विषयलाई लिएर मंगलबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकमा विवादसमेत उत्पन्न भएको थियो। पार्टीमा प्रवेश नै नगरेका व्यापारी रुपेश पाण्डेयको नाम केही नेताहरूको निजी स्वार्थमा सिफारिस गर्न खोजिएको आरोप लगाउँदै असन्तुष्ट कार्यकर्ताहरूले विरोध जनाएका थिए। सो क्रममा पाण्डेयका समर्थक र विरोधमा उत्रिएका कार्यकर्ताबीच हातहालाहालको अवस्था समेत सिर्जना भएको बताइएको छ।
यसैगरी क्षेत्र नम्बर ४ बाट जालिम मियाँ, वीरेन्द्र प्रसाद यादव र गोकुली कुमारी रेग्मीको नाम मधेस प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला सचिव दासले जानकारी दिए।















