वीरगंज–रक्सौल आवागमन सहज , सीमा क्षेत्रमा चहलपहल बढ्यो

वीरगंज, २३ पुस

लगातार भएका धार्मिक प्रदर्शन र त्यसपछि जारी गरिएको कर्फ्युका कारण प्रभावित बनेको वीरगंज अहिले क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ । कर्फ्यु हटेसँगै नेपाल–भारत सीमावर्ती सहर वीरगंज र रक्सौलबीचको आवागमन सहज बनेको छ ।

प्रदर्शनपश्चात् तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो , जसका कारण वीरगञ्ज–रक्सौल आवागमन केही समय अवरुद्ध बनेको थियो । तर, हिजो कर्फ्यु हटाइएपछि दुवै सहरबीच निर्वाध आवतजावत सुरु भएको छ ।

सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारण पुरानै अवस्थाजस्तै सहज रूपमा वीरगंजदेखि रक्सौल तथा रक्सौलदेखि वीरगंज आवतजावत गर्न थालेका छन् । विशेषगरी किनमेल तथा दैनिक कामकाजका लागि सीमा पार गर्नेहरूको चहलपहल बढेको देखिएको छ ।

कर्फ्यु हटेसँगै बजार क्षेत्र पनि बिस्तारै खुल्न थालेका छन् भने सीमा क्षेत्रमा सुरक्षाकर्मीको निगरानी कायमै राखिएको छ ।

सम्बन्धित पोस्टहरुः