वीरगंज , २३ पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्तासहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दायर आरोपपत्रमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह, लेखापाल सञ्जय पटेल, विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगञ्ज तथा कम्पनीका सञ्चालक कमल कुमार उपाध्यायलाई पनि प्रतिवादी बनाइएको छ।
आयोगको अनुसन्धानअनुसार आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले विभिन्न ५ विकास आयोजना संचालनका लागि ‘सौर्य दैनिक’मा बोलपत्र सूचना प्रकाशन गरेको दाबी गरेको भए पनि पत्रिकामा सूचना प्रकाशित नभएको पाइएको छ । यद्यपि झुटा बिल पेश गरी एजेन्सीलाई कुल ४ लाख २९ हजार ४०० रुपैयाँ भुक्तानी गरिएको आयोगले जनाएको छ ।
विस्तृत अनुसन्धानमा ट्युबवेल जडान, छिपहरमाई स्टेडियम निर्माण र चार कोठे भवन निर्माणलगायत आयोजनाहरूको सूचना सार्वजनिक खरिद नियमावली विपरीत अध्यक्ष गुप्ताले स्वयं पत्राचार गरी भुक्तानी दिएको देखिएको छ। प्रमाणित प्रतिमामा सम्बन्धित मितिमा सूचना प्रकाशित नभएको पुष्टि भएको छ।
आयोगका अनुसार अध्यक्ष गुप्ता, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र एजेन्सी सञ्चालकबीच योजनाबद्ध मिलेमतो देखिएको छ र यसले सार्वजनिक कोषको दुरुपयोग भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार सजाय माग गरिएको छ।
मुद्दाले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियामा हुने कागजी अनियमितता र मिलेमतोको गम्भीर समस्या उजागर गरेको छ।














