हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

वीरगंज , २३ पुस –

हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सञ्चालक समिति विरुद्ध आन्दोलन गरेका छन् । विद्यार्थीहरूले क्याम्पस प्रशासन र सञ्चालक समितिले आफ्नो हित विपरित निर्णय लिएको आरोप लगाएका छन् ।

विद्यार्थीहरूका अनुसार, महँगो शुल्क लागू गर्नु, समयमा परीक्षा सञ्चालन नगर्नु, दिवा बस सेवा बन्द गर्नु, कर्मचारी नियुक्ति तथा छात्रवृत्ति प्रक्रियामा अनियमितता गर्नु जस्ता कारणले उनीहरू आन्दोलनमा उत्रन बाध्य भएका हुन् । केही विद्यार्थीले भने एकैपटक २५ हजार रुपैयाँ तिर्न नसक्दा परीक्षाबाट वञ्चित गरिने धम्कीसमेत पाएको बताएका छन्।

निमित्त क्याम्पस प्रमुख रविन्द्र यादवले विद्यार्थीहरूको असन्तुष्टि सही भएको पुष्टि गर्दै, बसमा सयभन्दा बढी विद्यार्थी चढाउनुपर्ने बाध्यता र शैक्षिक वातावरणमा आएको असरबारे जनाएका छन् ।

विद्यार्थी आन्दोलनसँगै हरि खेतान कर्मचारी यूनियन र प्राध्यापक संघले पनि सञ्चालक समितिको निर्णयविरुद्ध संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले भने विद्यार्थीको आरोप निराधार रहेको र समिति विधान बमोजिम कार्य अघि बढाएको बताएका छन्।

सम्बन्धित पोस्टहरुः