वीरगंज ,२३ पुस –
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन्।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका मन्त्री घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा बुझाएपछि घिसिङले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो निर्णयबारे धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ।
चुनाव गराउने उद्देश्यसहित प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका केही मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएको भन्दै आलोचना बढेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमै नाम किटान गरी मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन्।
घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक रहेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणपछि उनी पार्टीका वरिष्ठ उपसभापति बनेका थिए।
उनी गत भदौ ३० गते ऊर्जा मन्त्रीमा नियुक्त भएका थिए।














