वीरगंज , २४ पुष
नेपाली सेनाले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार ‘एकीकृत सुरक्षा योजना २०८२’ सरकार, राष्ट्रिय सुरक्षा परिषद् र राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोही योजनाअनुसार सेना परिचालन हुनेछ ।
निर्वाचन प्रक्रियामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्व मतपत्र छपाइ, विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा गर्ने जिम्मेवारी सेनाले लिनेछ । मतदानका दिन सेना तेस्रो घेरामा रही निर्वाचनस्थल, उम्मेदवार, मतदाता तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्नेछ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासनसँग समन्वय गरी निर्वाचनसम्बन्धी तालिम तथा अभ्याससमेत सञ्चालन गरिने जनाइएको छ।














