सशस्त्र प्रहरी दिवसको अवसरमा वीरगंजमा निःशुल्क आँखा शिविर सञ्चालन

वीरगंज , २४ पुस

२५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल पर्साले वीरगंजमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । आज बिहानदेखि नै वीरगंज महानगरपालिका–१ छप्कैया स्थित बविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा शिविर आयोजना गरिएको हो ।

“सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रमअन्तर्गत सीमावासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वाटर पर्साको आयोजनामा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, वीरगंज सामुदायिक आँखा अस्पताल र लक्ष्मी सनराइज बैंक वीरगंजको सहकार्यमा शिबिर सञ्चालन भएको हो ।

शिविरमा ७८ जना स्थानीयवासीको आँखा परीक्षण तथा उपचार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी दिए ।

सशस्त्र प्रहरी नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारी, वीरगंज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेश सिंह धामी र लक्ष्मी सनराइज बैंक वीरगंज शाखाकी प्रबन्धक रोहिणी आचार्यलगायतको उपस्थिति थियो ।

सम्बन्धित पोस्टहरुः