वीरगंज, २४ पुस –
वीरगंजमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को ३५ औँ स्थापना दिवस विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ।
प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा आमाको छात्रावासमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।
छात्रावासमा आश्रित विद्यार्थीहरूलाई ३० दर्जन कापी तथा ३६० थान कलम–पेन्सिल वितरण गरिएको आयोजकले जनाएको छ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै शैक्षिक सामग्री वितरण गरिएको बताए। उनले निजी शिक्षा क्षेत्रले समाजप्रति पनि उत्तरदायी भूमिका खेल्नुपर्नेमा जोड दिए।
त्यसैगरी, प्याब्सन दिवसकै अवसरमा साँझ वीरगंजस्थित घण्टाघर परिसरमा दीप प्रज्वलन तथा दीपावली कार्यक्रम आयोजना गरिएको थियो। दीप प्रज्वलनमार्फत शिक्षा, ज्ञानको उज्यालो र उज्ज्वल भविष्यप्रतिको सन्देश प्रवाह गरिएको आयोजकको भनाइ छ।
कार्यक्रम जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी र वीरगंज
महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सनका केन्द्रीय, प्रदेश, जिल्ला तथा महानगर तहका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
यसै अवसरमा प्याब्सन सदस्य विद्यालय लिटल बडी प्रि–स्कुलले वार्षिक खेलकुद कार्यक्रम पनि सम्पन्न गरेको छ। उक्त कार्यक्रम विद्यालयका प्रिन्सिपल विजय बलको अध्यक्षता तथा प्याब्सन वीरगंज महानगर सचिव अमित आलोकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।















